रक्तचन्दन तस्करीको १३ वर्ष पुरानो मुद्दामा व्यवसायी नवीनराज बस्नेत पक्राउ
२४ असाेज,काठमाडौं । रक्तचन्दन तस्करीको १३ वर्ष पुरानो मुद्दामा व्यवसायी नवीनराज बस्नेत पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार (असोज २४ गते) साँझ भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो। बस्नेतलाई २०७० सालमा भएको रक्तचन्दन तस्करी प्रकरणमा पक्राउ गरिएको हो।
त्यसबेला ठेगाना नखुलेका कारण उनीविरुद्धको मुद्दा अघि बढ्न सकेको थिएन। पछिल्लो समय उनको ठेगाना खुलेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। २०७० चैत १८ गते काठमाडौंको गुह्येश्वरीबाट गोठाटारतर्फ जाँदै गरेको बा.१ख ५७५९ नम्बरको मिनीट्रकबाट बालुवाले छोपेर राखिएको नौ थान रक्तचन्दन बरामद भएको थियो।
उक्त घटनामा ट्रक चालक भीमबहादुर सुनुवार र सहचालक खेमबहादुर सिंह पक्राउ परेका थिए। अनुसन्धानका क्रममा चालक र सहचालकले कालिञ्चोक सप्लायर्सका सञ्चालक बस्नेतले बालुवा ढुवानी गर्न बोलाएको बयान दिएका थिए।
उक्त मुद्दामा चालक र सहचालक दोषी ठहर भई जनही छ महिना कैद र ३ लाख ६१ हजार ६०० रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। दोलखाका बस्नेतमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा उनको सम्पत्ति तथा त्यसको स्रोतबारे पनि छानबिन अघि बढाइएको छ। सीआईबीका अनुसार अदालत खुलेपछि बस्नेतलाई उपस्थित गराइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0