धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
२ कार्तिक,काठमाण्डाैं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १ः३० बजे सरस्वती खड्काको घरमा भाडामा बस्दै आएका काभ्रेको ढुङखर्क गाउँपालिका–९ निवासी कान्छा परियारका छोराहरू २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका हुन्।
प्रहरीका अनुसार कान्छा परियार र उनका छोराहरूले त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला पारेपछि कोठामा ल्याएका थिए। उक्त वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्रा लागेर दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी), चितवन पठाइएको प्रहरीले जनाएको छ।
घटनामा विस्फोट भएको वस्तु के थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0