काठमाडौंमा भन्सार जाँचका क्रममा प्रहरी र सशस्त्र प्रहरीबीच विवाद, दुई जवानबीच हात हालाहाल

Oct 3, 2026 - 20:26
 0  11
काठमाडौंमा भन्सार जाँचका क्रममा प्रहरी र सशस्त्र प्रहरीबीच विवाद, दुई जवानबीच हात हालाहाल

१७ असाेज,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा ड्युटी सकेर बाहिरिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानबीच विवाद हुँदा केही समय तनावको अवस्था सिर्जना भएको छ।

 शनिबार साँझ आगमनतर्फको भन्सार क्षेत्रमा रहेको सुरक्षा जाँचस्थलमा दुवै निकायका सुरक्षाकर्मीबीच जाँच गर्ने प्रक्रियालाई लिएर विवाद भएको हो। प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरीका कर्मचारीहरू भन्सार ड्युटी सकेर बाहिरिने क्रममा प्रहरीको वाकथ्रु मेसिन भएको क्षेत्रमा पुगेका थिए।

 त्यस क्रममा ड्युटीमा रहेका नेपाल प्रहरीले उनीहरूको नियमित सुरक्षा जाँच गर्न खोजेपछि जाँचको प्रक्रियालाई लिएर भनाभन भएको थियो। सशस्त्र प्रहरीका कर्मचारीले प्रत्यक्ष रूपमा हातले शरीर जाँच नगरी मेटल डिटेक्टरबाट मात्रै सुरक्षा जाँच गर्नुपर्ने बताएका थिए।

 यही विषयमा दुवै पक्षबीच विवाद बढ्दै गएपछि सशस्त्र प्रहरी बलकी जवान सुजता परियार र नेपाल प्रहरीकी जवान सुनीता रोकायाबीच हात हालाहालको अवस्था सिर्जना भएको सुरक्षा स्रोतले जनाएको छ। घटना भएपछि विमानस्थलमा खटिएका अन्य सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीहरूले तत्काल हस्तक्षेप गरेका थिए।

 उनीहरूको हस्तक्षेपपछि थप विवाद हुन नदिई अवस्था नियन्त्रणमा लिइएको नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले बताएका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित अधिकारीबीच घटनाबारे छलफल भएको छ।

घटनाको वास्तविक कारण र विवादको अवस्थाबारे दुवै निकायले आन्तरिक रूपमा अध्ययन तथा छानबिन गरिरहेको बताइएको छ।

विमानस्थलजस्तो संवेदनशील सुरक्षा क्षेत्रमा खटिएका दुई सुरक्षा निकायका कर्मचारीबीच नियमित जाँच प्रक्रियालाई लिएर विवाद र हात हालाहालको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीबीचको आपसी समन्वय र कार्यप्रक्रियामाथि समेत प्रश्न उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0