सर्लाहीमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवैको अवस्था गम्भीर
ईर्साद अन्सारी
२८ कातिक,बारा । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ।
गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साहमाथि अज्ञात समूहले इँटा प्रहार गरेको हो।
आक्रमणबाट दुवै जनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार दुवै जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए।
उनका अनुसार सुतिरहेको अवस्थामा दम्पतीमाथि आक्रमण भएको प्रारम्भिक जानकारी आएको छ। घटनामा संलग्न व्यक्ति र आक्रमणको कारणबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
वृद्ध दम्पतीमाथि भएको आक्रमणको कारण हालसम्म खुल्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0