वीरगञ्जको क्यासिनोबाट नेपाली नागरिकलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ
११ मंसिर,बारा । वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो)मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको तथा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन्। त्यसैगरी, पर्साको गढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेका छन्।
यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुली रहेका छन्।
पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0