लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि ‘सडक र सदन’ दुवै मोर्चामा संघर्षका लागि जुटन कार्यकर्तालाई ओलीको निर्देशन
१८ असाेज,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा ‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिएका हुन्।
बैठकमा ओली सहभागी भएर सांसदहरूलाई आगामी भूमिकाबारे निर्देशन दिएका थिए। ओलीले संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीले खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको बताएका छन्।
उनले आगामी दिनमा प्रत्येक सांसदले विषयवस्तुको गहन तयारी गर्न, विज्ञहरूसँग छलफल गर्न तथा जनताका मुद्दालाई प्रभावकारी ढंगले संसदमा उठाउन निर्देशन दिएका छन्।
संसदमा पार्टीको उपस्थिति संख्यात्मकभन्दा पनि गुणात्मक र प्रभावकारी बनाउनुपर्नेमा ओलीले जोड दिएका छन्। बैठकपछि एमाले प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारले लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवाललाई सुदृढ गर्न पूर्ण रूपमा चुकेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए।
महरका अनुसार बैठकले सरकार निरन्तर फासीवादी, स्वेच्छाचारी एवं तानाशाही बाटोतर्फ उन्मुख रहेको निष्कर्षसमेत निकालेको छ। यी सरकारप्रतिको एमालेको राजनीतिक मूल्यांकन भएको उनको भनाइ थियो।
सरकारले संसदलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायामा संसदलाई पारेको र जनमतको उपेक्षा गर्दै संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको आरोपसमेत एमालेले लगाएको छ।
यसैबीच, एमालेले आगामी दिनमा संसद र सडक दुवै मोर्चाबाट आफ्ना राजनीतिक मुद्दा सशक्त रूपमा उठाउने तयारी गरेको छ। पछिल्लो समय एमालेले लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षालाई आफ्नो राजनीतिक कार्यभारका रूपमा अघि सार्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0