रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते
१८ कातिक,रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गएराति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।
गएराति सवा ९ बजे गढवा टोलस्थित पानी ट्यांकी नजिक भएको उक्त घटनामा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।
पेस्तोलबाट प्रहार गरिएको गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। प्रहरीका अनुसार उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा गरी दुईवटा गोलीका छर्रा लागेका छन्।
घटनालगत्तै घाइते यादवलाई उद्धार गरी प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार गराइएको थियो। तर, उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल रिफर गरिएको छ।
घटनास्थलबाट प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद गरेको छ। हालसम्म गोली प्रहारमा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन भने घटनाको कारणसमेत अज्ञात रहेको छ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले गहिरो अनुसन्धान तथा खोजी कार्य जारी राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0