रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ बाढी प्रभावितलाई राहत
१४ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जना बाढी तथा विपद् प्रभावित नागरिकले अस्थायी आश्रय र राहत प्राप्त गरेका छन्। नुवाकोटमा मात्रै १६ वटा अस्थायी आश्रयस्थल तथा शिविरमा २ हजार २७४ जना प्रभावितले आश्रय लिएका छन्।
विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका तथा किस्पाङ गाउँपालिकाका विभिन्न स्थानमा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ। विदुर नगरपालिका–३ देवघाट, विदुर–९, बट्टार, त्रिशूली बजार, बेत्रावती, तुप्चे, सिमचौरलगायत क्षेत्रमा रहेका प्रभावितका लागि पुस्तकालय, स्वास्थ्य चौकी, कवर्ड हल, विद्यालय, वडा कार्यालय तथा अन्य सुरक्षित भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ।
रसुवाका केही प्रभावितलाई समेत नुवाकोटको बट्टारस्थित तामाङ प्लाजामा व्यवस्थापन गरिएको छ। उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा स्वास्थ्य टोली परिचालन गरिएको छ। यस्तै, रसुवामा १० वटा अस्थायी आश्रयस्थल सञ्चालनमा रहेका छन्।
ती आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना विपद् प्रभावित नागरिकले आश्रय लिएका छन्। स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्मो गाउँपालिकाका हाकु, पाङलिङ र ग्रेलगायत तथा गोसाइँकुण्ड गाउँपालिकाका थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेसीमा आश्रयस्थल सञ्चालनमा छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ। रसुवामा धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा नेपाल सशस्त्र प्रहरी बल र नेपाली सेनाका स्वास्थ्यकर्मी परिचालन गरी घाइते तथा प्रभावितको उपचार भइरहेको छ।
बाढीबाट थप क्षति हुन नदिन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत र औषधोपचारको व्यवस्था गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च सतर्कताका साथ परिचालित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0