​मोरङमा प्रहरीको गोली लागेर २ भारतीय लागूऔषध तस्कर घाइते; ५०० ग्राम खैरो हेरोइन, पेस्तोलसहित ३ जना पक्राउ

Oct 30, 2026 - 07:12
 0  6
​मोरङमा प्रहरीको गोली लागेर २ भारतीय लागूऔषध तस्कर घाइते; ५०० ग्राम खैरो हेरोइन, पेस्तोलसहित ३ जना पक्राउ

१३ कातिक,काठमाण्डाैं  । मोरङमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।

उनीहरूसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतको अररिया हुँदै मोरङको रतुवामाई नगरपालिका–६ तर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई बिहीबार प्रहरीले निगरानीका क्रममा रोकेर जाँच गर्न खोजेको थियो।

 सो क्रममा भारतीय नागरिक २२ वर्षीय दीपक कुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप पाँच राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि पेस्तोल ताकिरहेको भन्दै प्रहरीले दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरन कुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि दुई राउन्ड गोली प्रहार गरेको ब्यूरोले जनाएको छ।

गोली लागेर घाइते भएका दुवै जनाको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ। प्रहरीले उनीहरूको साथबाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली बरामद गरेको छ।

 घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल र तीन थान मोबाइलसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका २२ वर्षीय दीपक कुमार बोसाक र ४० वर्षीय पुरन कुमार बोसाक तथा मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुर रहेका छन्।

 ब्यूरोका अनुसार भारतमा बसेर नेपालमा लागूऔषध आपूर्ति गर्ने भारतीय नागरिक तथा उनीहरूसँग संलग्न नेपाली नागरिकमाथि लामो समयदेखि निगरानी भइरहेको थियो।

पक्राउ परेका योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङमा बुझाइएको छ। ब्यूरोले योगेन्द्र ठाकुर शारीरिक रूपमा फरक क्षमता भएको व्यक्ति रहेको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0