वैशालीबाट पटना उच्च अदालतका अधिवक्ता संदीप कुमार सिन्हा हतियार तस्करी आरोपमा पक्राउ

Oct 31, 2026 - 11:00
 0  6
वैशालीबाट पटना उच्च अदालतका अधिवक्ता संदीप कुमार सिन्हा हतियार तस्करी आरोपमा पक्राउ

१४ कातिक,काठमाण्डाैं  । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अवैध हतियार तस्करी प्रकरणमा पटना उच्च अदालतमा वकालत गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

बिहारको वैशाली जिल्लाबाट बिहीबार राति उनलाई पक्राउ गरिएको हो। भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार पक्राउ पर्ने व्यक्ति संदीप कुमार सिन्हा हुन्।

उनी नगाल्यान्डबाट बिहारसम्म एके–४७ लगायत प्रतिबन्धित तथा अत्याधुनिक हतियार तस्करी गर्ने सञ्जालमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा थिए।

 एनआईएका अधिकारीका अनुसार सिन्हाले अन्य आरोपितसँग मिलेर नगाल्यान्डबाट बिहारमा एके–४७ राइफललगायत प्रतिबन्धित हतियार ल्याउने षड्यन्त्र गरेको आरोप छ। पक्राउका क्रममा उनको साथबाट टाटा नेक्सन गाडी, मोबाइल फोन, सिमकार्ड तथा मेमोरी कार्ड बरामद गरिएको छ।

पीटीआईका अनुसार उक्त प्रकरणमा सन् २०२४ अगस्ट ५ मा बिहारको मुजफ्फरपुरस्थित मुरघटिया पुलनजिकै लेन्स जडित एके–४७ राइफल र गोली बरामद भएपछि अनुसन्धान सुरु भएको थियो। बिहार प्रहरीले सुरुमा अनुसन्धान गरेको उक्त मुद्दा सन् २०२४ अगस्टमा एनआईएले आफ्नो जिम्मामा लिएको थियो।

 एनआईएको अनुसन्धानमा नगाल्यान्डबाट बिहारका विभिन्न क्षेत्रमा अवैध हतियार पुर्‍याउने सञ्जाल सक्रिय रहेको खुलेको छ। यसअघि पनि उक्त प्रकरणमा चार जना पक्राउ परी आरोपपत्र दायर भइसकेको र पछिल्लो समय अर्का एक आरोपितसमेत पक्राउ परेको एनआईएले जनाएको छ।

यसअघि २०२५ अक्टोबर ९ मा एनआईएले वैशालीस्थित संदीप कुमार सिन्हाको घरमा छापा मार्दा ९ एमएमको पेस्तोल, १८ राउन्ड गोली, दुईवटा म्यागजिन, १२ बोरको दोहोरो नाल भएको बन्दुक, ३५ राउन्ड गोली तथा ४ लाख २१ हजार रुपैयाँ नगद बरामद गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको थियो।

एनआईएले यस प्रकरणमा हतियारको स्रोत, आपूर्ति सञ्जाल र अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको छ।फाटाे: नवभारत टाईम्स डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0