पत्रकार पक्राउ र न्युजरुममा प्रहरी हस्तक्षेपविरुद्ध महासंघको प्रदर्शन, वर्षामै माइतीघरमा उत्रिए पत्रकार
ईर्साद अन्सारी
१४ कातिक,काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि प्रहरी धरपकड तथा समाचारकक्षमा प्रहरी हस्तक्षेप भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
शुक्रबार साँझ बसेको महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको हस्तक्षेपको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार महासंघका पदाधिकारी, पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू प्रदर्शनमा सहभागी भएका छन् । वर्षा भइरहे पनि महासंघको अगुवाइमा प्रदर्शन जारी रहेको छ ।
सहभागीहरूले पत्रकार पक्राउ र सञ्चारगृहमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन् । शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिकाको समाचारकक्षमा प्रवेश गर्ने प्रयास गर्नुअघि नै अन्य चार सञ्चारगृहमा पुगेर पत्रकारमाथि धरपकड तथा पक्राउ गरेको थियो ।
त्यसक्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेत पक्राउ परेका थिए । प्रहरी दियो पोस्ट डटकमको कार्यालयमा समेत धरपकडका लागि पुगेको थियो ।
पक्राउ परेका पत्रकारको रिहाइको माग गर्दै महासंघका प्रतिनिधिसहित सञ्चारकर्मीहरू साइबर ब्युरो पुगेका थिए । पत्रकार पक्राउको घटनाले चौतर्फी विरोध भएपछि प्रहरीले तीनै जना पत्रकारलाई रिहा गरेको थियो ।
महासंघले पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरी समाचारकक्षमा हस्तक्षेप गर्ने घटनाको विरोधमा प्रदर्शनमार्फत आफ्नो असहमति जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0