समाचारको स्रोत खोल्न दबाब दिँदै न्यूज रुमबाटै पक्राउ गरिएका पत्रकार सुवेदी रिहा
१३ कातिक,काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्।
उपत्यका अपराध अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार साँझ केहीबेरअघि रिहा गरेको हो। नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो। घटनापछि नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो।
नेपाल प्रेसका अनुसार प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गर्न सहमति जनाएको हो। पौडेलले भने समाचारको स्रोत खुलाउन अस्वीकार गरेका छन्। नेपाल प्रेसले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको, उनीमाथि दबाब बढाइएको र उनी कानुनी परामर्शमा रहेको विषयमा समाचार प्रकाशित गरेको थियो।
सोही समाचारको स्रोत प्रहरीले खोजेको प्रधान सम्पादक पौडेलले बताएका छन्। पत्रकारलाई समाचारको स्रोत खुलाउन दबाब दिँदै पक्राउ गर्ने प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै पौडेलले यस्तो प्रवृत्तिले नेपाली पत्रकारिता सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
‘समाचारको स्रोत खोज्दै पत्रकारहरूलाई पक्राउ गर्दै जाने हो भने हिरासत खाली रहँदैनन्,’ पौडेलले प्रहरीलाई दिएको सुझाव उद्धृत गर्दै भने। उनले सञ्चारमाध्यममाथिको धरपकड खेदजनक भएको बताउँदै सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोपसमेत लगाए।
‘नेपाली पत्रकारिता सङ्कटमा जाँदै छ। सरकार अधिनायकवादतर्फ जाँदै छ। पत्रकारितालाई अधिनायकवादले निल्दै छ,’ पौडेलले भने। समाचारको स्रोत संरक्षण गर्नु पत्रकारिताको आधारभूत मान्यता हो। समाचार लेखेकै आधारमा पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0