मूल्यवृद्धि नियन्त्रण र ग्यास सहज आपूर्तिको माग गर्दै अग्रगामी युवा मोर्चाद्वारा आयल निगम घेराउ गर्ने घोषणा

Sep 15, 2026 - 17:43
 0  6
मूल्यवृद्धि नियन्त्रण र ग्यास सहज आपूर्तिको माग गर्दै अग्रगामी युवा मोर्चाद्वारा आयल निगम घेराउ गर्ने घोषणा

३० भदौ,काठमाण्डाैं  । मूल्यवृद्धि नियन्त्रण तथा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको माग गर्दै अग्रगामी युवा मोर्चाले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

आम जनता पार्टी (आजपा)को काठमाडौंस्थित कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले आगामी असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको हो । बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर र प्रवक्ता सुभाष साहलगायतको सहभागिता रहेको थियो ।

लामो समयदेखि एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिँदा पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको भन्दै मोर्चाले मूल्यवृद्धि नियन्त्रण गर्न तथा अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

 मोर्चाले ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न तथा पेट्रोलियम पदार्थको मूल्य घटाउन असोज ६ गते आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने जनाएको छ । मोर्चाले मूल्यवृद्धि, कालोबजारी, भ्रष्टाचार तथा सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउँदै पाँचबुँदे मागसमेत अघि सारेको छ ।

 यस्तै, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत प्रभावकारी हुन नसकेको आरोप लगाउँदै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्न माग गरेको छ । विपद् प्रभावितलाई तत्काल उद्धार, उचित राहत तथा स्थायी पुनस्र्थापनाको व्यवस्था गर्न पनि मोर्चाले माग गरेको छ ।

संस्थागत हुँदै गएको भ्रष्टाचार र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शिता र सुशासन कायम गर्न तथा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरिएको छ । वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियाको सञ्जाल नियन्त्रण गर्नसमेत मोर्चाले जोडदार माग गरेको छ ।

मोर्चामा आबद्ध विभिन्न युवा तथा विद्यार्थी संगठनका प्रतिनिधिले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा मागहरू तत्काल सम्बोधन नभए देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0