‘जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्दैनौं’: प्रधानमन्त्री
२२ भदाै,काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका छन्।
प्रधानमन्त्री शाहले सोमबार आफ्नो फेसबुकमार्फत भदौ १० गते रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको करिब ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको उल्लेख गरेका छन्।
बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको उनले बताएका छन्। आयोजना क्षेत्रमा कार्यरत केही मानिस सम्पर्कविहीन भएपछि सुरुदेखि नै खोज तथा उद्धार कार्य जारी राखिएको शाहले जानकारी दिएका छन्।
उनका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्सका सम्पूर्ण संरचना तथा पावरहाउस क्षेत्रका अधिकांश सामग्रीमा क्षति पुगेको छ। नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि मानिस फेला पार्न नसकेको र अहिले हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर खोजी जारी राखिएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र खोजी गर्दा दुई शव फेला पारेको शाहले बताएका छन्। चिलिमे जलविद्युत् आयोजनामा पनि सुरुङको प्रवेशविन्दुबाट करिब ९० मिटरभित्र प्रवेश गरी दुई शव फेला पारिएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनामा थर्मल ड्रोनलगायत प्रविधिको प्रयोग गरी खोजी गरिएको र एक जनाको शव फेला परेको थियो। त्यसपछि भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप दुई शव फेला पारिएको प्रधानमन्त्री शाहले बताएका छन्।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पनि उद्धार टोलीले कठिन परिस्थितिमा सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको शाहले बताएका छन्। भदौ १९ गते दुई जनाको उद्धार र एक शव फेला परेको तथा थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेराको प्रयोग गरी खोजी जारी रहेको उनले जानकारी दिएका छन्।
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना र आयोजनाका कर्मचारीले सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै करिब १.७ किलोमिटरभित्रसम्म खोजी गरेका छन्। सो क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको तथा बाढीका कारण आयोजनाका ६ वटा आवासीय र एउटा कार्यालय भवन पुरिएको शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले प्रभावित आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली निरन्तर खोज तथा उद्धारमा खटिरहेको बताएका छन्। खोजी कार्यमा सहयोग गर्न मित्रराष्ट्रबाट विशेषज्ञ टोलीसमेत परिचालन भइरहेको उनले उल्लेख गरेका छन्। ‘
हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन, समयको सीमितताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्नेछौं,’ प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्। उनले सरकार आफ्नो जिम्मेवारीप्रति गम्भीर रहेको उल्लेख गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0