भारतबाट भन्सार छली ल्याइएको साढे ११ लाखको कपडा र ३ मोटरसाइकल बारामा सशस्त्रद्वारा बरामद, एक नियन्त्रणमा
२७ असाेज,बारा । बारामा सशस्त्र प्रहरीले ११ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका कपडा तथा तीनवटा मोटरसाइकल बरामद गरेको छ।
तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बाराको सुवर्ण गाउँपालिका–३, पचगछिया क्षेत्रस्थित सीमा नाकामा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद सामग्रीमध्ये ६ लाख ९६ हजार रुपैयाँ बराबरका साडी तथा धोतीका कपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरका तीनवटा मोटरसाइकल रहेका छन्।
सीमा सुरक्षा गुल्म पिपरपाती र बोर्डर आउट पोस्ट (बीओपी) बेनौलीबाट खटिएको गस्ती टोलीलाई देखेपछि सामान ओसारपसारमा संलग्न केही व्यक्ति मोटरसाइकलमा ल्याउँदै गरेको सामान छाडेर फरार भएका थिए।
सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। बरामद कपडा तथा मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0