बिहारको गयामा दरोगाका छोराको हत्याका दुई आरोपी प्रहरी मुठभेडमा घाइते
एजेन्सी
६ कातिक,काठमाण्डाैं । भारतको बिहारस्थित गया जिल्लामा प्रहरीका दुई छोरामाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको आरोप लागेका दुई जना प्रहरी मुठभेडमा घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान गया जिल्लाको मुफस्सिल थाना क्षेत्रअन्तर्गत बिछी गाउँनजिक प्रहरी र आरोपीबीच मुठभेड भएको थियो। मुठभेडका क्रममा श्याम बिहारी उर्फ गौरव र काला नामले चिनिने दुई जनाको खुट्टामा गोली लागेको छ।
घाइते दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अनुग्रह नारायण मगध मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरेको समाचारमा उल्लेख छ। घटनास्थलबाट प्रहरीले हतियारसमेत बरामद गरेको जनाइएको छ।
गत १९ अक्टोबर मोतिहारीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुधांशु शेखर उर्फ पिन्टु सिंहका दुई छोरा रानु शेखर (३०) र मोनु शेखर (३२) माथि मानपुर क्षेत्रको सिद्धार्थपुरी कोलोनीनजिक गोली प्रहार भएको थियो।
घटनामा रानुको मृत्यु भएको थियो भने मोनु गम्भीर घाइते भएका थिए। उनको पटना अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ।
प्रारम्भिक अनुसन्धानमा पुरानो विवादसँग सम्बन्धित विषयलाई लिएर दुवै दाजुभाइलाई योजनाबद्ध रूपमा बोलाएर गोली प्रहार गरिएको आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस घटनामा यसअघि पनि दुई जना पक्राउ परिसकेको र मुठभेडमा घाइते भएका आरोपीसँग सोधपुछपछि हत्याको योजनामा संलग्न अन्य व्यक्तिबारे थप जानकारी खुल्न सक्ने प्रहरीको अपेक्षा रहेको समाचारमा उल्लेख छ।फाटाे: दैनिक जागरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
1
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0