फेटा घटनापछि प्रहरी निरीक्षक सुमन लामासहित तीन दर्जन बढी प्रहरी र कर्मचारी दुई घण्टापछि सुरक्षित निकालिए
१४ कातिक,बारा । बाराको फेटा गाउँपालिका–३ जगतपुरमा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपपछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामासहित तीन दर्जनभन्दा बढी प्रहरी तथा कर्मचारीलाई दुई घण्टापछि सुरक्षित रूपमा बाहिर निकालिएको छ।
नवनिर्मित १५ शैयाको अस्पताल भवन उद्घाटनका क्रममा स्थानीयवासी र प्रहरीबीच विवाद चर्किएपछि प्रहरी निरीक्षक लामासहित सुरक्षाकर्मी तथा कर्मचारी स्वास्थ्य चौकीभित्र थुनिएका थिए। उनीहरूलाई करिब दुई घण्टापछि त्यहाँबाट सुरक्षित निकालिएको हो।
शनिबार बिहान करिब ११ बजे अस्पताल भवन उद्घाटनको तयारी भइरहेका बेला विवाद सुरु भएको थियो। अस्पतालमा विद्युत्, खानेपानीलगायत आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था नभएको भन्दै स्थानीयवासीले उद्घाटनको विरोध गरेका थिए।
अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र सुविधा सुनिश्चित गरेर मात्र उद्घाटन गर्नुपर्ने स्थानीयको माग थियो। करिब एक सय जनाको समूहले विरोध जनाउँदै उद्घाटनका लागि तयार पारिएको टेन्ट तथा पाल भत्काउनुका साथै अस्पताल परिसरको मुख्य गेटमा तालाबन्दी गर्ने प्रयास गरेको थियो।
त्यसपछि प्रहरीले लाठीचार्ज गरी भीड नियन्त्रणमा लिन खोजेको थियो। प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको जनाइएको छ। सोही क्रममा प्रहरीको गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका १४ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका छन्।
उनलाई उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको छ। बालकलाई गोली लागेपछि घटनास्थल थप तनावग्रस्त बनेको थियो। आक्रोशित प्रदर्शनकारीले झण्डै एक दर्जन मोटरसाइकलमा आगजनी गरेका छन्।
अस्पताल उद्घाटनको विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि जगतपुर क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0