फुटबल खेलेर फर्किँदै गर्दा टाइगर श्रॉफमाथि गोलीप्रहार, चालकसहित दुई घाइते

Oct 19, 2026 - 07:27
 0  5
फुटबल खेलेर फर्किँदै गर्दा टाइगर श्रॉफमाथि गोलीप्रहार, चालकसहित दुई घाइते

२ कार्तिक,काठमाण्डाैं  । बलिउड अभिनेता टाइगर श्रॉफमाथि आइतबार साँझ मुम्बईको जुहुस्थित पुष्पा पार्कनजिक गोलीप्रहार भएको छ।

फुटबल खेलेर घर फर्किने क्रममा उनको गाडीलाई लक्षित गरी गोली चलाइएको हो। घटनामा श्रॉफ सुरक्षित रहे पनि उनका चालक र अर्का एक व्यक्ति घाइते भएका छन्। मुम्बई प्रहरीका अनुसार, आइतबार साँझ करिब ७ बजे अज्ञात व्यक्तिहरूले श्रॉफको गाडीमा गोली चलाएका थिए।

श्रॉफ हरेक आइतबार उक्त क्षेत्रमा फुटबल खेल्न जाने गरेको र आक्रमणकारीले उनको नियमित गतिविधिबारे जानकारी राखेको हुन सक्ने प्रहरीको आशंका छ। मुम्बई प्रहरीका डीसीपी मोहित गर्गले श्रॉफलाई गोली नलागेको र उनी सुरक्षित रहेको बताएका छन्।

उनका चालक फिरदोसको बायाँ हातमा चोट लागेको छ भने अर्का एक व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। घटनापछि श्रॉफ र उनका चालकलाई मुम्बईको विले पार्लेस्थित नानावती अस्पताल लगिएको थियो। अर्का घाइतेलाई छातीमा गोली लागेपछि कूपर अस्पतालमा उपचारका लागि भर्ना गरिएको विवरण सार्वजनिक भएको छ।

उपचारपछि श्रॉफ अस्पतालबाट निस्केर घर फर्किएका छन्। घर पुगेपछि उनको दाहिने हातमा पट्टी बाँधिएको तस्बिरसमेत सार्वजनिक भएको छ। घटनाको अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा दुई जना शंकास्पद व्यक्ति देखिएका छन्। उनीहरू मोटरसाइकलमा आएको र गोली चलाएपछि भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

 आक्रमणकारीले प्रयोग गरेको भनिएको मोटरसाइकल अन्धेरी पश्चिम रेल्वे स्टेसननजिक फेला परेको छ। घटनामा संलग्न व्यक्तिको खोजीका लागि मुम्बई प्रहरीले १५ वटा टोली परिचालन गरेको छ। प्रहरीले घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज जाँच गर्दै आक्रमणकारीको पहिचान र घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।

यसैबीच, लरेन्स बिश्नोई समूहसँग सम्बन्धित भएको दाबी गर्दै अनिल पण्डित र हरमन सन्धुका नामबाट सामाजिक सञ्जालमा घटनाको जिम्मेवारी लिइएको पोस्ट सार्वजनिक भएको छ। पोस्टमा अभिनेता सलमान खानसँग काम गर्ने व्यक्तिहरूलाई समेत धम्की दिइएको विवरण छ। तर उक्त पोस्टको प्रामाणिकता र गोलीप्रहारमा सो समूहको संलग्नता प्रहरीले पुष्टि गरिसकेको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार, घटनाको अनुसन्धानका क्रममा सान्ताक्रुज क्षेत्रबाट एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको विवरण पनि आएको छ। यद्यपि, अनुसन्धानमा संलग्न व्यक्तिको भूमिकाबारे थप आधिकारिक विवरण सार्वजनिक भएको छैन।

महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले श्रॉफ र उनका पिता ज्याकी श्रॉफलाई भेटेर घटनाबारे जानकारी लिएका छन्। उनले मुम्बईमा आपराधिक गतिविधि नियन्त्रण गर्न र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि प्रहरीलाई घटनाको शीघ्र अनुसन्धान गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन्। गोलीप्रहारको घटनामा संलग्न व्यक्तिको पहिचान, आक्रमणको उद्देश्य र सामाजिक सञ्जालमा गरिएको दाबीको सत्यताबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0