प्रधानमन्त्री शाहको अमेरिका भ्रमण : गुटेरेससँग भेटवार्ता, महासभामा सम्बोधन र स्वदेश फिर्ती

Sep 22, 2026 - 20:08
 0  5
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण : गुटेरेससँग भेटवार्ता, महासभामा सम्बोधन र स्वदेश फिर्ती

६ असाेज,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कका लागि प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नेछन्।

 न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा जानेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणका विषयमा क्रमशः ब्रिफिङ गर्ने कार्यक्रम छ।

 त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा उनी सहभागी हुनेछन्। असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहातर्फ प्रस्थान गर्नेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0