पर्सामा प्रहरीमाथि घुस प्रकरण : इन्स्पेक्टरसहित तीन जना जिल्ला तानिए, छानबिन समिति गठन

Oct 4, 2026 - 15:49
 0  11
पर्सामा प्रहरीमाथि घुस प्रकरण : इन्स्पेक्टरसहित तीन जना जिल्ला तानिए, छानबिन समिति गठन

१८ असाेज,बारा । लागुऔषध मुद्दामा फरार रहेका अभियुक्तसँग रकम लिएर छाडेको आरोपमा पर्साको पटेर्वा सुगौलीस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ।

 जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार रहेका एक बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूबाट १० हजार रुपैयाँ लिएर छाडिएको सूचना प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।

 प्रारम्भिक अनुसन्धानका क्रममा रकम लिने कार्यमा प्रहरी हवल्दार र जवानसँगै इन्स्पेक्टरको समेत संलग्नता वा मिलेमतो देखिएको भन्दै तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाइएको हो।

जिल्ला तानिनेमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डित रहेका छन्। पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार घुसबापत लिएको भनिएको रकमसमेत फेला परेको छ।

घटनाको विस्तृत अनुसन्धानका लागि डीएसपी राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिले घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन गरिरहेको प्रहरीले जनाएको छ। अनुसन्धान पूरा भएपछि समितिले तयार पार्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइने र त्यसपछि इन्स्पेक्टर अधिकारीसहित तीनै जनामाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाइने पर्सा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0