धनुषाका युवक दुई अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ
१२ कातिक,काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिल कुमार यादव रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले बाइनान्स खातामार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८ दशमलव ५० युएसडीटी बराबरको कारोबार गरेको खुलेको छ
। उक्त कारोबारको नेपाली मूल्य दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक युएसडीटीको मूल्य १५१ रुपैयाँ ५३ पैसाका दरले हिसाब गर्दा उक्त रकम बराबरको कारोबार भएको देखिएको हो ।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन सट्टेबाजीका खेल तथा एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने, गराउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषणपछि जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा यादवलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने तथा दफा २६२(क)(१) अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0