गुठी संस्थानविरुद्ध जनकपुरका स्थानीयको सडक प्रदर्शन: प्रमाणबिना उठीबास लगाउन खोजेको आरोप

Sep 8, 2026 - 17:48
 0  7
गुठी संस्थानविरुद्ध जनकपुरका स्थानीयको सडक प्रदर्शन: प्रमाणबिना उठीबास लगाउन खोजेको आरोप

२३ भदाै,जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१४ का स्थानीयवासीले गुठी संस्थानले आफूहरूलाई जबरजस्ती उठीबास लगाउन खोजेको आरोप लगाउँदै जनकपुर–ढल्केवर मुख्य सडक अवरुद्ध गरेका छन्। गुठी संस्थानले राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको छ।

 यसक्रममा एक चरणमा पोखरी तथा पोखरीका डिल खाली गराइएको थियो। पुनः गत १९ गते गुठी संस्थानले १४ स्थानमा रहेका अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। जनकपुरधाम–१४ स्थित लब्की पोखरी आसपास बसोबास गर्दै आएका स्थानीयले भने आफूहरूसँग कुनै प्रमाण नहेरी तथा प्रमाण माग नगरी जग्गा खाली गर्न सूचना टाँसिएको भन्दै विरोध गरेका छन्।

उनीहरूले आफूहरू ७०–८० वर्षदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको दाबी गरेका छन्। स्थानीय उदय यादवका अनुसार २०४६ सालमा नापी हुँदा नापी कार्यालय, मालपोत कार्यालय, गुठी संस्थान तथा स्थानीय प्रतिनिधिको रोहबरमा फिल्डबुकमा नापी तथा भोगसम्बन्धी प्रमाण आफूहरूलाई दिइएको थियो।

 कित्ताकाट गरी व्यक्तिको नाममा फिल्डबुक नापी तथा भोगको प्रमाणसमेत दिइएको अवस्थामा अहिले आएर जग्गा खाली गर्न सूचना निकालिनु गलत भएको उनको भनाइ छ। यादवले गुठी संस्थानले आफूहरूसँग प्रमाण नै नमागी जग्गा खाली गर्न सूचना जारी गरेको आरोप लगाए।

उनले उक्त जग्गा गुठीको भएको प्रमाण देखाउन संस्थानले नसक्ने दाबी गर्दै पोखरी तथा आसपासको जग्गा निजी व्यक्तिले दान गरेको जग्गा भएको बताए। त्यस्तै, वडा नं. १४ का पूर्ववडाध्यक्ष रामवरण पासवानले पनि २०४६ सालमा आफू जनप्रतिनिधि रहेकै समयमा सम्बन्धित निकायका पदाधिकारीको उपस्थितिमा कित्ताकाट गरी स्थानीयलाई भोगका लागि जग्गा दिइएको दाबी गरे।

उक्त जग्गा गुठीको नरहेको दाबी गर्दै उनले प्रमाणबिना स्थानीयलाई उठीबास लगाउन खोज्नु गैरकानुनी भएको आरोप लगाए। पासवानका अनुसार उक्त जग्गा गुठी संस्थानको ३५ र ३६ नम्बर कित्तामा समेत पर्दैन। त्यसैले गुठी संस्थानले सो जग्गा खाली गराउन खोज्नु उचित नभएको उनको भनाइ छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा करिब १५० घरधुरी बसोबास गर्दै आएका छन्। उनीहरूले आफूहरूको लामो समयदेखिको बसोबास र भोगचलनलाई बेवास्ता नगरी सम्बन्धित निकायले प्रमाणका आधारमा विवाद समाधान गर्नुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0