कर्णालीमा मन्त्री छान्न नसकेपछि सात आकांक्षीको नाम केन्द्रमा
९ भदाै,सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ।
अब मन्त्री छनोटको अन्तिम निर्णय नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले गर्ने भएका छन्। नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीका अनुसार सोमबार बिहानसम्म पनि मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि सात जना आकांक्षीको नाम केन्द्रमा पठाइएको हो। केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
यसअघि सोमबार बिहान ११ बजे तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले समेत शपथका लागि समय तय गरिसकेको थियो। तर अन्तिम समयमा मन्त्रीको नाम सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए।
नेकपाबाट विन्दमान विष्ट, मिलन खड्का र जुम्कित लामाको नाम मन्त्रीका रूपमा चर्चामा आए पनि पार्टीभित्र आकांक्षीको संख्या बढेपछि निर्णय हुन सकेन।
मन्त्री छनोटको विषयलाई लिएर साबिक माओवादी र साबिक नेकपा एकीकृत समाजवादी धारबीचको मतभेदसमेत सतहमा आएको छ। नेकपा र नेकपा एमालेबीच भएको सत्ता साझेदारीअनुसार कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको छ। नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन्।
एमालेबाट भने तीन मन्त्री नियुक्त भइसकेका छन्। मन्त्री छनोटमा भएको ढिलाइका कारण मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दासमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
सरकारका मन्त्रालयहरूमा नेतृत्व नहुँदा बजेट कार्यान्वयन तथा नियमित सरकारी कामकाज प्रभावित हुन सक्ने भन्दै सरकारको आलोचनासमेत भइरहेको छ। अब मन्त्रीको अन्तिम टुंगो पार्टी केन्द्रले लगाएपछि मात्रै कर्णाली प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0