उपराष्ट्रपति यादवको जोड : छठले हिमाल, पहाड र मधेशलाई सांस्कृतिक एकतामा बाँध्छ
२९ कातिक,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले हिमाल, पहाड र मधेशका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई सुदृढ बनाएको बताएका छन् ।
छठ महापर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । उनले मानव, प्रकृति र सृष्टिबीचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन् ।
सूर्यलाई जीवनदाता र ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अर्घ्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रतिको कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने उनको भनाइ छ ।अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने परम्पराले जीवनका हरेक अवस्था, सङ्घर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उनले बताएका छन् ।
नहाय–खाय, खरना, सन्ध्या अर्घ्य र उषा अर्घ्यका धार्मिक अनुष्ठानले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने उल्लेख गरेका छन् । उपराष्ट्रपति यादवले छठ पूजा–आराधनाको पर्व मात्र नभई सामाजिक समरसता र सहअस्तित्वको उत्सवसमेत भएको बताएका छन् ।
बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल, अन्न तथा ठेकुवा, भुसुवा, पिरुकिया र खजुरियालगायत परम्परागत प्रसादले रैथाने ज्ञान, श्रमसंस्कृति र स्थानीय उत्पादनको सम्मान तथा संरक्षणमा टेवा पुर्याउने उनको भनाइ छ ।
त्यस्तै, नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठले वातावरणीय चेतना र प्राकृतिक स्रोत संरक्षणको जिम्मेवारीसमेत बोध गराउने उनले उल्लेख गरेका छन् ।
उनले छठ पर्वले नेपाली समाजमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना विकास गरोस् भन्दै सूर्यदेव र छठी माताको कृपाले सबै नेपालीको जीवनमा आशा, उत्साह, स्वास्थ्य, सुख र सफलताको प्रकाश फैलियोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0