आजदेखि छठ पर्व विधिवत् सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै
२७ कातिक,बारा । सूर्य उपासनाको महापर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
छठ पर्वको पहिलो दिन आज शुक्रबार व्रतालुहरूले ‘नहाय–खाय’ अर्थात् नुहाएर शुद्ध भोजन गर्ने विधि पूरा गर्दैछन्। चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले बिहानै नदी, पोखरी, तलाउ तथा जलाशयमा स्नान गरी आफू र पूजाका सामग्रीलाई शुद्ध बनाउने परम्परा छ।
त्यसपछि शुद्ध र सात्त्विक भोजन ग्रहण गरेर पर्वको सुरुवात गरिन्छ। छठ पर्वलाई हिन्दू धर्मावलम्बीहरूले अत्यन्त पवित्र र कठोर व्रतका रूपमा लिने गर्छन्। यस पर्वमा व्रतालुहरूले शारीरिक तथा मानसिक शुद्धता कायम गर्दै श्रद्धा र निष्ठाका साथ भगवान् सूर्य र छठी माताको पूजा आराधना गर्छन्।
धार्मिक मान्यताअनुसार सूर्यलाई जीवन, ऊर्जा, स्वास्थ्य र समृद्धिको स्रोत मानिन्छ। सूर्यको उपासना गर्दा परिवारमा सुख, शान्ति, सन्तानको दीर्घायु, आरोग्य तथा समृद्धि प्राप्त हुने विश्वास छ। छठी माताको पूजा गर्दा सन्तानको कल्याण र परिवारको सुखसमृद्धि हुने धार्मिक विश्वास पनि रहिआएको छ।
नहाय–खायपछि दोस्रो दिन शनिबार ‘खरना’ मनाइन्छ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा गरी प्रसाद ग्रहण गर्छन्। त्यसपछि सुरु हुने निर्जला व्रतमा पानीसमेत नखाई अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।विशेषगरी तराई–मधेसमा श्रद्धा, आस्था र भक्तिभावका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडसहित देशका विभिन्न भागमा समेत व्यापक रूपमा मनाउन थालिएको छ।
यस पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता, स्वच्छता र प्रकृतिप्रतिको सम्मानको सन्देशसमेत दिने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0