हरिद्वारमा गंगा नदी सुकेको भन्दै सामाजिक सञ्जालमा भ्रम, नहरको बहाव रोकिँदा नदीको सतह देखिएको खुलासा
८ कातिक,काठमाण्डाैं । भारतकाे उत्तराखण्डस्थित हरिद्वारमा गंगा नदी सुकेको भन्दै सामाजिक सञ्जालमा भिडियो तथा तस्बिरहरू सार्वजनिक भएपछि विभिन्न किसिमका दाबी फैलिएका छन्।
तर, गंगा नदी पूरै सुकेको भन्ने दाबी भ्रामक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हरिद्वारको प्रसिद्ध धार्मिक स्थल हर की पौडी क्षेत्रमा पानीको सतह घटेर नदीको पिँध देखिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।
ती दृश्यलाई कतिपयले गंगा नदी नै सुकेको भन्दै प्रस्तुत गरेका छन्। तर, नदीको बहाव घट्नुको कारण प्राकृतिक रूपमा गंगा सुक्नु नभई माथिल्लो गंगा नहरको वार्षिक सफाइ तथा मर्मतसम्भारका लागि पानीको बहाव रोक्नु रहेको समाचारमा उल्लेख छ।
समाचार अनुसार अक्टोबर २० को मध्यरातदेखि हरिद्वारस्थित भीमगोदा ब्यारेजबाट गंगा नहरमा पानीको बहाव रोकिएको हो। वार्षिक सफाइ, नहरको पिँधमा जमेको बालुवा तथा गेग्रान हटाउने, संरचनाको मर्मत र आगामी अर्धकुम्भ मेलाको तयारीका लागि नहर बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
नहरको बहाव नोभेम्बर ७ र ८ को मध्यराततिर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। यस अवधिमा हर की पौडीसहितका केही घाटमा पानीको सतह घटेको छ र सामान्य अवस्थामा पानीमुनि रहने नदीको पिँध देखिएको छ।
सामाजिक सञ्जालमा भाइरल दृश्यहरू नहरको अस्थायी बन्दसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। त्यसैले ती दृश्यलाई गंगा नदी नै पूर्ण रूपमा सुकेको प्रमाणका रूपमा प्रस्तुत गर्नु तथ्यसँग मेल खाँदैन।
नदीको पिँधमा फोहोर देखिएपछि प्रदूषणको प्रश्न पानीको सतह घटेपछि नदीको पिँधमा प्लास्टिकका झोला, पुराना कपडा, जुत्ता, पूजासामग्री तथा अन्य फोहोर देखिएका छन्। पानी बगिरहेका बेला नदेखिने यस्ता फोहोर सतहमा आएपछि गंगा नदीको सरसफाइ र प्रदूषण नियन्त्रणबारे पनि प्रश्न उठेको छ।
स्थानीय स्वयंसेवक तथा सरसफाइमा संलग्न समूहहरूले फोहोर हटाउने कामसमेत गरेका छन्। गंगा नदी हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिन्छ। हरिद्वारको हर की पौडीमा गंगास्नान तथा धार्मिक अनुष्ठान गर्न ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्छन्।
पानीको बहाव घटेपछि श्रद्धालुहरूलाई स्नान गर्नसमेत कठिनाइ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस घटनामा सामाजिक सञ्जालमा फैलिएका दृश्यहरू वास्तविक भए पनि तिनलाई प्रस्तुत गरिएको सन्दर्भ महत्त्वपूर्ण छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0