बारा–पर्सादेखि जनकपुर र देशभर छठको रौनक : आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
२९ कातिक,बारा । लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको महापर्व छठको रौनक मधेश प्रदेशका बारा, पर्सा, धनुषाको जनकपुरधामलगायत देशभर फैलिएको छ।
चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठपर्वको आज तेस्रो दिन साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदैछ। विशेषगरी बारा, पर्सा र मिथिलाको जनकपुर क्षेत्रमा परम्परागत रूपमा विशेष महत्वका साथ मनाइँदै आएको छठपर्व पछिल्लो समय देशव्यापी बनेको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा गाउँमा नदी, पोखरी, तलाउ र जलाशयका किनारमा छठघाट निर्माण गरी सजाइएको छ। घाटहरूलाई झिलिमिली बत्ती, फूलमाला र विभिन्न सजावटले आकर्षक बनाइएको छ। आज बिहानैदेखि व्रतालुहरू निराहार तथा निर्जला उपवासमा छन्।
साँझ भएपछि बाँसको ढाकी, सुपली र दउरामा ठकुवा, भुसुवा, केरा, उखु, नरिवल, सखरखण्डलगायत फलफूल तथा प्रसादका सामग्री सजाएर व्रतालुहरू छठघाट पुग्नेछन्। जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई जल, दूध र फूलसहित अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठीमाताको पूजा आराधना गर्नेछन्।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर छठघाटमै बसेर छठका परम्परागत गीत गाउने, भजनकीर्तन गर्ने र छठीमाताको आराधना गर्ने चलन छ। यसले घाटको वातावरण भक्तिमय र उल्लासपूर्ण बनाउने गर्छ।
छठपर्वको चौथो तथा अन्तिम दिन भोलि बिहानै व्रतालुहरू पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। बिहानको अर्घ्यलाई 'भोरका अर्घ्य' भनिन्छ। त्यसपछि व्रतालुहरूले कोशी भर्ने धार्मिक विधि पूरा गरी प्रसाद ग्रहण गर्दै लामो व्रत समापन गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार छठीमाताको श्रद्धापूर्वक व्रत र सूर्यदेवको उपासना गर्दा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने, परिवारका सदस्यलाई चराचुरुङ्गीलगायत विभिन्न रोगबाट रक्षा हुने तथा मनले चिताएको मनोकामना पूरा हुने विश्वास गरिन्छ। विशेषगरी सन्तानको दीर्घायु, स्वास्थ्य, पारिवारिक कल्याण र सन्तान प्राप्तिको कामनासहित महिला तथा पुरुषले यो कठिन व्रत गर्ने गरेका छन्।
छठपर्व केवल धार्मिक अनुष्ठानमा सीमित नभई प्रकृतिप्रतिको सम्मान, आत्मसंयम, पवित्रता, पारिवारिक एकता र सामाजिक सद्भावको प्रतीकसमेत मानिन्छ। जातजाति र समुदायबीचको आपसी सहयोग तथा एकताको सन्देश दिने यस पर्वमा घाट निर्माण, सरसफाइ र सजावटदेखि पूजा व्यवस्थापनसम्म स्थानीयवासी सामूहिक रूपमा जुट्ने गर्छन्।
पहिले मुख्यतः तराई–मधेश र मिथिला क्षेत्रमा सीमित छठपर्व अहिले काठमाडौंलगायत पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा समेत उत्साहपूर्वक मनाइन थालेको छ। यसले छठपर्वलाई क्षेत्रीय पहिचानबाट राष्ट्रिय सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्दै लगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0