. दक्षिण अस्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् अवरुद्ध

Oct 12, 2026 - 15:38
 0  3
. दक्षिण अस्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् अवरुद्ध

२६ असाेज,काठमाडौं । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ। तीव्र हावासँगै आएको ठूलो असिनाले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ भने रुख ढल्दा सडक अवरुद्ध हुनुका साथै सवारीसाधनमा समेत क्षति पुगेको छ।

अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार आइतबार दिउँसो राज्यभर ७ हजारभन्दा बढी विद्युत् ग्राहक प्रभावित भएका थिए। विद्युत् सेवा प्रदायक एसए पावर नेटवर्क्सका अनुसार सोमबार दिउँसोसम्म पनि १५ स्थानमा विद्युत् अवरोध कायम रहँदा १ हजार ८७२ ग्राहक प्रभावित थिए।

आँधीका कारण राज्यको राजधानी एडिलेड र आसपासका क्षेत्रमा बढी क्षति पुगेको छ। केही स्थानमा असिना गोल्फ बलको आकारसम्म पुगेको थियो। हावाको तीव्र वेगले रुख ढाल्दा सडक अवरुद्ध हुनुका साथै पार्किङमा राखिएका सवारीसाधनमा समेत क्षति पुगेको छ।

अस्ट्रेलियाको आपत्कालीन सेवा (एसईएस) ले आइतबार दिउँसोदेखि सोमबारसम्म १०० भन्दा बढी सहायता अनुरोध प्राप्त गरेको जनाएको छ। तीमध्ये करिब ८० प्रतिशत घटना रुख ढलेसँग सम्बन्धित रहेको एबीसी न्युजले उल्लेख गरेको छ। आँधीबाट प्रभावित क्षेत्रमा ढलेका रुख हटाउने, अवरुद्ध सडक खुलाउने तथा विद्युत् सेवा पुनःस्थापना गर्ने काम भइरहेको छ।

एडिलेडको दक्षिणपूर्वी क्षेत्रमा ९६६ ग्राहक प्रभावित भएको सबैभन्दा ठूलो विद्युत् अवरोध सोमबार रातिसम्म समाधान हुने अपेक्षा गरिएको एसए पावर नेटवर्क्सले जनाएको छ।

अस्ट्रेलियाको मौसम विभागले सोमबार पनि दक्षिण अस्ट्रेलियाका केही क्षेत्रमा बादल, वर्षा र मेघगर्जनसहित आँधीको गतिविधि जारी रहन सक्ने जनाएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0