छठले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास
२९ कातिक,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय र लैङ्गिक विभेद तथा सामाजिक कुरीतिको अन्त्य गर्दै राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र सामाजिक सद्भाव सुदृढ गर्न छठले प्रेरणा दिने बताएका छन् ।
उनले सूर्य, जल र पृथ्वीको पूजा आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको सन्देश दिने उल्लेख गरेका छन् ।
तराई–मधेशमा विशेष रूपमा मनाइने छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाइनु खुसीको विषय भएको उनले बताएका छन् ।
राष्ट्रपति पौडेलले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्ग प्रशस्त गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0