सर्लाहीको हरिवनमा सुनचाँदी पसल चोरीको आरोपमा दुई भारतीय नागरिक पक्राउ, गरगहना बरामद
१२ कातिक,सर्लाही । सर्लाहीको हरिवन बजारस्थित एक सुनचाँदी पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका विभिन्न सुनका गरगहनासहित चोरीमा प्रयोग हुने सामानसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार बिहान करिब ४ बजे हरिवन नगरपालिका–११ स्थित रिद्धि सिद्धि ज्वेलर्समा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनाबारे सोधपुछ तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा हरिवन नगरपालिका–११ मा कविन कार्कीको घरमा डेरा गरी बस्ने भारतको बिहार, मोतिहारी जिल्लाका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको आदापुर थाना, औरहिया पञ्चायत वडा नं. ११ निवासी २५ वर्षीय जुनैद अंसारी र झरोखर थाना, आठमोहनी पञ्चायत वडा नं. १२ निवासी २८ वर्षीय रियाज अंसारी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट सुनका पेण्डल ३५ थान, औँठी ४ थान, तिलहरी १ थान, नौगेडी १ थान, मोती क्लिप १ थान, बेबी माला ५ थान, चन्द्रमा ८ थान र कानका टप ३९ थान बरामद गरेको छ।
त्यस्तै, सुनको जस्तो देखिने नक्कली हार १ थान, फलाम काट्ने कटर १ थान र एन्ड्रोइड मोबाइल १ थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0