वैदेशिक रोजगारीबाट फर्किएको भोलिपल्टै धनुषामा दम्पती मृत भेटिए, ४ वर्षीय बालक घाइते
८ कातिक,जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् भने उनका श्रीमान् घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
मृत्यु हुनेमा ३० वर्षीया रिनादेवी यादव र उनका श्रीमान् ३५ वर्षीय उमेश यादव रहेका छन्। रिनादेवी माइतीमा बस्दै आएकी थिइन्। उनको घाँटीमा धारिलो हतियारले प्रहार गरेको घाउ देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
उमेशको घर मिथिला बिहारी नगरपालिका–४ भरतपुरमा रहेको बताइएको छ। उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्र ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोरा छन्। बालकको एउटा तिघ्रामा समेत धारिलो हतियारले प्रहार गरेको घाउ देखिएको जनाइएको छ। घटनाको प्रकृति शंकास्पद देखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताएका छन्।
प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्। महिलाको मृत्यु र उनका श्रीमान् पनि मृत भेटिएको घटनाको वास्तविक कारण तथा घटनाक्रमबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0