मुगुमा हाईलक्स जिप ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
२९ कातिक,काठमाण्डाैं । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडक खण्डमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आईतबार अचानक सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा चालकसहित पाँच जना सवार थिए । दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।
दुर्घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र बी.सु. गार्ड ताल्चाबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकले मादक पदार्थ सेवन गरे/नगरेको लगायत दुर्घटनासम्बन्धी थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0