बाढीपीडितको उद्धारमा चीनको साथ, चौथो खेपमा आयो अत्यावश्यक उपकरण
२३ भदाै,काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चलिरहेका बेला चीनले नेपाललाई आपतकालीन राहत सामग्रीको चौथो खेप पठाएको छ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाइ–२० ठूलो कार्गो विमानमार्फत ल्याइएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले ती सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
चौथो खेपमा हावरक्राफ्ट पम्प, बाढीको लेदो तान्ने स्टेनलेस स्टिल पम्प, ब्याट्री, शव राख्ने ठूला फ्रिज र सोलार लाइट्स लगायतका सामग्री छन्। बाढीका कारण उद्धार कार्य कठिन भइरहेका क्षेत्रमा यी उपकरण उपयोगी हुने अपेक्षा गरिएको छ।
चिनियाँ पक्षले नेपालमा तत्काल आवश्यक पर्ने सामग्री तथा विपद्बाट प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राखेर राहत सामग्री छनोट गरिएको जनाएको छ। यसअघि चीनले तीन चरणमा नेपाललाई आपतकालीन राहत सामग्री, उद्धार विशेषज्ञ तथा प्राविधिक सहयोग उपलब्ध गराइसकेको छ।
भदौ १८ गते आएको अघिल्लो खेपमा शव राख्ने फ्रिज, महामारी रोकथाम सामग्री, दैनिक उपभोग्य सामग्री तथा विपद् उद्धारका उपकरणहरू थिए। चीनबाट निरन्तर प्राप्त भइरहेको सहयोगले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0