मनहरीमा १६२ किलो गाँजासहित दुई चालक पक्राउ
२३ भदाै,मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भदौ २३ गते राति करिब २ः४५ बजे भाबरस्थित भित्री सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोजेको थियो। सो क्रममा पिकअप गाडी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसपछि कारको सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको १३ वटा पोकाबाट १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।
महतो कार चालक हुन् भने दोङ पिकअप चालक हुन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप चालक दोङले अगाडि रहेको कारलाई स्कर्टिङ गर्दै लैजाने गरेको खुलेको छ।
बरामद गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0