भुरुङखेलबाट ठूलो परिमाणमा अवैध पटका बरामद, ३६ वर्षीय सुजन कपाली पक्राउ
ईर्साद अन्सारी
२३ भदाै,काठमाडौं । काठमाडौं महानगरपालिका–१८ भुरुङखेलबाट प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा लुकाइछिपाइ राखिएको पटका तथा विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले पटका बिक्री वितरणमा संलग्न रहेको आरोपमा
एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाइछिपाइ राखी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार साँझ करिब ५ बजे चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–१८ भुरुङखेल बस्ने ३६ वर्षीय सुजन कपालीको कोठाबाट विभिन्न प्रकारका ठूलो परिमाणमा पटका फेला परेको हो। प्रहरीका अनुसार ‘किङ कोब्रा’ लेखिएको ३ हजार १६६ प्याकेट, ‘सिवाकासी’ लेखिएको १ हजार ५१२ पिस, ‘इन्डिगो चक्कर’ ८६० पिस, ‘चक्कर बिग’ ९६३ पिस, ‘फ्लावर पोट स्पेसल’ ८०० पिस, ‘लेपर्ड किङ’ ७०० पिस, ‘सुप्रिम क्विन डिक्स’ ६३४ पिस, ‘ट्राइटन इलेक्ट्रोनिक’ ५२५ पिस र ‘रकेट बम’ ४९० पिस बरामद गरिएको छ।
त्यस्तै ‘गन गन’, ‘सुपर हिरो’, ‘गुरुजी कलर’, ‘क्र्याक ज्याक’, ‘बहुबली’, ‘इलेक्ट्रिक’, ‘स्पिनर’, ‘सफारी’, ‘जेली बिन’, ‘हाउसफुल’, ‘७ सट्स’, ‘मौरीछाप जयमाला’, ‘सुलती बम’ लगायत विभिन्न नामका पटका तथा झिरझिरेसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद भएका पटका तथा विस्फोटक पदार्थको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेका कपालीमाथि प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0