चितवनमा यात्रुवाहक जिप दुर्घटना: १८ जना घाइते, ७ को भण्डारा र ११ को भरतपुरमा उपचार हुदै
८ कातिक,बारा । चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब २ बजेर ५० मिनेटमा कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भण्डारा अस्पताल पठाएको थियो।
दुर्घटनामा घाइते भएका १८ जनामध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।
भण्डारा अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये राप्ती नगरपालिका–१३ का १० वर्षीया आशीका प्रजा र १२ वर्षीय भिषण प्रजाको अवस्था मध्यम रहेको छ। सोही स्थानका १३ वर्षीया झरना प्रजा, ३५ वर्षीय सन्तोष प्रजा, ६ वर्षीया निरुता प्रजा, २९ वर्षीया माया प्रजा र मायाका ११ महिनाका छोरा इशान प्रजाको अवस्था सामान्य रहेको छ।
त्यस्तै, थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएका घाइतेमध्ये राप्ती नगरपालिका–१३ का १५ वर्षीया ममता प्रजा, १० वर्षीया प्राप्ती प्रजा, ३० वर्षीया सनिता प्रजा र २५ वर्षीया यानीमायाको अवस्था मध्यम रहेको छ। सोही स्थानका १९ वर्षीया अस्मिता प्रजा, २ वर्षीय रियन प्रजा, ८ वर्षीय समिर प्रजा, ७ वर्षीय अविरल प्रजा, ९ वर्षीय सुशान्त प्रजा र ६ वर्षीय जेम्म प्रजाको अवस्था सामान्य रहेको छ।
यसैगरी, कालिका नगरपालिका–१२ का २४ वर्षीय विशाल मगरको अवस्था पनि मध्यम रहेको छ। दुर्घटनामा संलग्न बोलेरोका चालक राप्ती नगरपालिका–१३ निवासी करिब २६ वर्षीय रोशन प्रजा इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0