कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड : १९ जनाको मृत्यु, २५ देखि ३५ जना घाइते, १२ जना हिरासतमा
१ कार्तिक,काठमाण्डाैं । भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
भारी वर्षाबाट जोगिन ठूलो संख्यामा मानिसहरू पण्डालभित्र प्रवेश गर्न खोज्दा शनिबार साँझ भागदौड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २५ देखि ३५ जनासम्म घाइते भएको विभिन्न सञ्चारमाध्यमका समाचारमा उल्लेख छ।
घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। प्रारम्भिक विवरणअनुसार पण्डालमा एकैपटक भीड बढेपछि मानिसहरूबीच धकेलाधकेल भएको र केही मानिस एकअर्कामाथि खसेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पूजा आयोजक, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापनसँग सम्बन्धित १२ जनालाई हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज जाँच गर्दै भीड व्यवस्थापन, प्रवेश तथा निकास मार्ग र सुरक्षा प्रबन्धमा कमजोरी भए–नभएको अनुसन्धान गरिरहेको छ। घटनापछि पूजा समितिका महासचिवसहित केही पदाधिकारीले राजीनामा दिएको समाचारमा उल्लेख छ।
घटनाको छानबिन गर्न बहालवाला न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्ने घोषणा पनि गरिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ राहत र परिवारका एक सदस्यलाई सरकारी जागिर उपलब्ध गराउने घोषणा गरेका छन्। घाइतेलाई जनही पाँच लाख भारतीय रुपैयाँ सहायता दिने तथा उपचार खर्च सरकारले बेहोर्ने जनाइएको छ।
यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेका छन्।
चोरबागानको दुर्गा पूजा पण्डाल करिब ९१ वर्ष पुरानो रहेको बताइएको छ। घटनाको वास्तविक कारण र सुरक्षा व्यवस्थापनमा भएको सम्भावित कमजोरीबारे अनुसन्धान जारी रहेकाले दोषीको जिम्मेवारी भने अनुसन्धानपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।एजृेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0