कलैया–९ का वडाध्यक्ष पुरुषोत्तम पाण्डेको निधन, मंगलबार सार्वजनिक शोक बिदा
२६ असोज,बारा । बाराको कलैया उपमहानगरपालिका–९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वनगर सभापति पुरुषोत्तम सिंह पाण्डेको निधन भएको छ। मस्तिष्कघात भएपछि उपचाररत पाण्डेको सोमबार निधन भएको हो।
पाण्डेलाई असाेज १४ गते मस्तिष्कघात भएपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको अवस्था गम्भीर भएपछि आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।
उपचारकै क्रममा उनको निधन भएको हो। पाण्डेको निधनले परिवारजन, आफन्त तथा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाझ शोक छाएको छ। पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै कलैया उपमहानगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै असोज २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक शोक बिदा रहने जनाएको छ।
नगरप्रमुख विनोदप्रसाद साहद्वारा जारी शोक सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। स्वर्गीय पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0