आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्ने चेतावनी
१२ कातिक,काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ।
प्रहरी प्रधान कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार बनाउँदा नागरिकमा भ्रम फैलिने र संगठनको छवि तथा निष्ठामा असर पर्न सक्ने जनाएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरिएको छ।
समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न, सूचनाको सत्यता सुनिश्चित गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
नागरिकलाई सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्ने अधिकार रहेको उल्लेख गर्दै प्रहरीले जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ। नेपाल प्रहरीले कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेको छ।
संगठनका सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्नसमेत निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। प्रहरी प्रधान कार्यालयले संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राख्ने सीमित व्यक्तिहरूको गतिविधिमाथि अनुसन्धान गर्ने जनाएको छ।
त्यस्ता गतिविधिमा संलग्नमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीको चेतावनी छ। प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा आम नागरिकलाई प्रमाणित, आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0