सरकारद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि गरे कारबाही हुने चेतावनी

Oct 30, 2026 - 15:20
 0  11
सरकारद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि गरे कारबाही हुने चेतावनी

ईर्साद अन्सारी

१३ कातिक,काठमाडौं। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

 मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक पालना नगरेको पाइएको छ। त्यस्तै, संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको मन्त्रालयको ठहर छ।

 यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ। तर, पटक–पटक निर्देशन दिँदा पनि त्यसको पालना भएको नदेखिएपछि निलम्बनको निर्णय गरिएको सूचनामा उल्लेख छ।

 मन्त्रालयले एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिँदै सार्वजनिक सूचनापछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि गर्न नपाइने स्पष्ट पारेको छ।

 सूचनामा संस्थाको नाममा कुनै समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0