नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक–सहचालकसहित ७ जना घाइते

Oct 12, 2026 - 10:26
 0  4
नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक–सहचालकसहित ७ जना घाइते

२६ असाेज,नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित मोडनजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घाइतेमध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको छ ।

 घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी रहेका छन् ।

त्यस्तै, बसका चालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र वि.क. र सहचालक कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी पनि घाइते भएका छन् । उनीहरू सबैको उपचार भइरहेको छ ।

 बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको HR 39 G 2876 नम्बरको ट्रकमा समेत सामान्य ठक्कर लागेको छ । ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

 दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0