सप्तकोशी नदीमा पानीबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन बेपत्ता; मृतक तथा बेपत्ता सबैको पहिचान खुल्यो
८ कातिक,धनकुटा । सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
दुर्घटनामा चालकसहित १२ जनाको उद्धार गरिएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा आइतबार दिउँसो पानीबोट दुर्घटना भएको हो।
भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–चतरा जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रारम्भिक विवरणमा उल्लेख छ।
आईतबार दिउँसो करिब २ बजे भएको दुर्घटनाका बेला पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीबाट खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो।
तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब ५२ वर्षीया लिला राई, नामथर र वतन नखुलेकी करिब ६–७ वर्षीया बालिका तथा नामथर र वतन नखुलेका करिब ४०–५० वर्षीय पुरुष रहेका छन्।
दुर्घटनाबाट उद्धार भई सकुशल रहेका नौ जनामा पानीबोट चालक बराहक्षेत्र नगरपालिका–१ का करिब २४ वर्षीय सुमन मगर, भोजपुरको हतुवागढी गाउँपालिका–४ का विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा, प्रज्वल तिरुवा, देवेन्द्र राई, रञ्जित राई र मोहन सुनार तथा झापाको कनकाई नगरपालिका–४ की निता मगर रहेका छन्।
दुर्घटनामा परी तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ का करिब सात वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी करिब २२ वर्षीया मनु राई रहेका छन्।
शिवक मगर निता मगरका छोरा हुन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नदी क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जनाको टोली घटनास्थलमा खटिएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0