वीरगञ्ज यातायात कार्यालय बिचौलियाको कब्जामा, सेवाग्राहीबाट लाइसेन्स वितरणमै ३ सयदेखि ५ सय रुपैयाँ असुलीको आरोप

Oct 30, 2026 - 18:10
 0  28
वीरगञ्ज यातायात कार्यालय बिचौलियाको कब्जामा, सेवाग्राहीबाट लाइसेन्स वितरणमै ३ सयदेखि ५ सय रुपैयाँ असुलीको आरोप

१३ कातिक,वीरगञ्ज। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, वीरगञ्जमा बिचौलियाको प्रभाव बढ्दै गएको र सेवाग्राहीले विभिन्न बहानामा अतिरिक्त रकम बुझाउनुपर्ने अवस्था रहेको आरोप लागेको छ।

 कार्यालयमा पहिले बाहिर बसेर बिचौलियाको काम गर्दै आएका व्यक्तिहरूलाई पुनः कार्यालयभित्र प्रवेश गराइएको र उनीहरूलाई महत्त्वपूर्ण शाखाको जिम्मेवारीमा परिचालन गरिएको स्रोतको दाबी छ।

प्राप्त विवरणअनुसार, फिरोज नाम गरेका व्यक्ति तत्कालीन कार्यालय प्रमुख कमल गौतमको कार्यकालमा दैनिक हाजिरीमा रहने गरी कार्यालय सहयोगीका रूपमा नियुक्त भएका थिए। त्यसपछि उनलाई चालक अनुमतिपत्र बनाउन आउने सेवाग्राहीसँग समन्वय गर्ने र रकम संकलन गर्ने काममा परिचालन गरिएको आरोप छ

। तत्कालीन कार्यालय प्रमुख गौतमसँग निकट रहेर काम गरेका फिरोजले सोही अवधिमा आर्थिक लाभ लिएको आरोपसमेत लागेको छ।

 राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले सुशासनलाई प्राथमिकता दिँदै स्थायीबाहेकका कर्मचारी हटाउने निर्देशन दिएपछि कार्यालयमा कार्यरत त्यस्ता कर्मचारी तथा सहयोगीहरू हटेका थिए। तर, केही समयपछि शाखा अधिकृतहरूको सिफारिस र व्यक्तिगत स्वार्थका आधारमा पुरानै बिचौलियालाई पुनः कार्यालयमा भित्र्याइएको आरोप छ।

अहिले कार्यालयका महत्त्वपूर्ण शाखामा समेत उनीहरूको प्रभाव रहेको र कार्यालयबाहिर बसेर बिचौलियाको काम गर्दै आएका करिब एक दर्जन व्यक्ति पुनः कार्यालयभित्र सक्रिय भएको दाबी गरिएको छ।

 सरकारले सेवाग्राहीलाई सहज रूपमा लाइसेन्स उपलब्ध गराउने तथा स्मार्ट लाइसेन्स घरघरमै पुर्‍याउने नीति अघि सारे पनि वीरगञ्जस्थित कार्यालयमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ।

एक सेवाग्राहीका अनुसार, स्मार्ट लाइसेन्स लिन कार्यालय पुग्दा फिरोज नाम गरेका व्यक्तिले ३०० देखि ५०० रुपैयाँसम्म अतिरिक्त रकम लिएर लाइसेन्स वितरण गर्ने गरेका छन्। सरकारी सेवाका लागि तोकिएको शुल्कबाहेक रकम असुली भइरहेको यो आरोपले कार्यालयको सेवा प्रवाह र पारदर्शितामाथि प्रश्न उठाएको छ।

 कार्यालयभित्र कर्मचारीका नाममा बिचौलियाको गतिविधि सञ्चालन भइरहने हो भने सरकारले अघि सारेको सुशासन र सेवाग्राहीमैत्री प्रशासनको उद्देश्य पूरा हुन नसक्ने सरोकारवालाहरूको भनाइ छ।

यस विषयमा कार्यालय प्रमुखको प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0