विगतका गल्ती सच्याउँदै जनतामाझ जाने नेकपाको घोषणा, दुई महिने जागरण अभियान सुरु
ईर्साद अन्सारी
७ कातिक,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विगतका गल्ती र कमजोरीको आत्मसमीक्षा गर्दै जनताको विश्वास पुनः मजबुत बनाउने उद्देश्यसहित दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार जारी गरेको अपिलमा कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन्। अभियानमार्फत पार्टीका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने नेकपाले जनाएको छ।
अपिलमा पार्टी जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी हुँदै गएको स्वीकार गर्दै किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर भएको उल्लेख गरिएको छ। जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन नसक्ने भन्दै पार्टीले आफ्ना कमजोरी सच्याउने प्रतिबद्धता जनाएको छ।
नेकपाले वर्तमान सरकारको कार्यशैलीप्रति आलोचना गर्दै महँगी, बेरोजगारी, युवा पलायन र आर्थिक असुरक्षाका कारण जनजीवन कठिन बन्दै गएको दाबी गरेको छ। नयाँ र पुरानाबीच कृत्रिम विभाजन सिर्जना गरी सामाजिक घृणा बढाउने तथा नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको अपिलमा उल्लेख छ।
अभियानका क्रममा महँगी, कालोबजारी, भ्रष्टाचार, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गरिने पार्टीले जनाएको छ। जनताबाट प्राप्त गुनासालाई अभिलेख राख्ने, सम्बन्धित सरकारी निकायमा मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि भएका प्रयासबारे जनतालाई जानकारी दिने योजना पनि नेकपाले अघि सारेको छ।
पार्टीले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको संरक्षणसँगै संगठन विस्तार तथा सुदृढीकरणलाई अभियानको मुख्य उद्देश्य बनाएको छ। सदस्यता नवीकरण, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम पूरा गर्ने तथा जनसंगठनहरूलाई सक्रिय बनाउने पनि अपिलमा उल्लेख छ।
त्यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति र बेपत्ता नागरिकको खोज तथा उद्धारमा भएको भनिएको ढिलाइप्रति नेकपाले गम्भीर आपत्ति जनाएको छ। विपद् प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरिएको छ।
नेकपाले समाजवाद निर्माणलाई आर्थिक असमानता र शोषण अन्त्य गर्ने, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी तथा आत्मनिर्भर बनाउने लक्ष्यका रूपमा व्याख्या गरेको छ। कृषि तथा उद्योगको आधुनिकीकरण, राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्ने पार्टीको भनाइ छ।
अपिलको अन्त्यमा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, आलोचना स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन आग्रह गरेका छन्। जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका सवालमा संवाद र सहकार्य गर्न आह्वान गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0