मकवानपुरमा ईभी भ्यान दुर्घटना, ११ जना घाइते, चालक फरार

Oct 18, 2026 - 16:18
 0  8
मकवानपुरमा ईभी भ्यान दुर्घटना, ११ जना घाइते, चालक फरार

१ कार्तिक,बारा । मकवानपुरको भीमफेदीमा भाडाको ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

 घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार भएका छन्। आइतबार दिउँसो भीमफेदी गाउँपालिका–१, बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी भ्यान सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो।

 दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, सोही गाउँपालिकाको पिपराटोलका ५० वर्षीय हरि साह, उनकी छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह तथा पाँच वर्षीय नाति आर्यन साह घाइते भएका छन्।

 भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम पनि दुर्घटनामा घाइते भएका छन्। त्यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–११, पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४, यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर घाइते भएका छन्।

 प्रहरीका अनुसार राजेश साहको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँध, हरि साहको मुख, सबिता कुमारी चौधरीको बायाँ कोखा, राहुल ठाकुरको मुख तथा विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। चन्दा कुमारी साह, शिवा कुमारी साह र आर्यन साहको शरीरमा भित्री चोट लागेको जनाइएको छ। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो।

हरि साहको अवस्था गम्भीर भएपछि थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्यहरू पनि उनीसँगै चितवन गएका छन्।

हरि साहका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेको विवरणमा उल्लेख छ। दुर्घटनापछि ईभी भ्यान घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। चालक फरार रहेकाले उनको खोजी भइरहेको छ। प्रहरीले गाडीधनी शिवकान्त झासँग सम्पर्क भएको जनाएको छ।

 दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0