बाढी–पहिरोका कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन आग्रह

Sep 9, 2026 - 07:18
 0  8
बाढी–पहिरोका कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन आग्रह

२४ भदाै,काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडकखण्ड पूर्ण रूपमा बन्द रहेको र केहीमा एकतर्फी यातायात सञ्चालनमा रहेको जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरोका कारण अवरुद्ध काठमाडौं–धादिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरोध कायमै छ । काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा बाढीको सम्भावनाका कारण यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

बीपी राजमार्गमा भने परिस्थितिको अवस्था हेरी निश्चित समयमा १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

 नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । वेत्रावती नगरपालिका–१० सिमटारमा पनि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

 सोही राजमार्गअन्तर्गत बेनीघाट रोराङ–१० ज्वाङखोला र गजुरी गाउँपालिका–२ चालिसेमा भने एकतर्फी यातायात सञ्चालनमा रहेको छ । यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरमा पहिरोका कारण सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । कर्णाली प्रदेशमा पनि सडक अवरोधको अवस्था गम्भीर रहेको छ ।

 मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा बन्द छ । सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

 दैलेखको दुल्लु नगरपालिका–१ भम्लुको खोलामा बुधबार राति पहिरो गएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले अवरुद्ध सडकखण्डमा तत्काल जोखिम मोलेर यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रुले विशेष सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0