फेटामा अस्पताल उद्घाटन विवाद हिंसात्मक बन्यो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते, मोटरसाइकलमा आगजनी

Oct 31, 2026 - 12:26
 0  24
फेटामा अस्पताल उद्घाटन विवाद हिंसात्मक बन्यो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते, मोटरसाइकलमा आगजनी

१४ कातिक,बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आजै अस्पताल उद्घाटन गर्ने अडान लिएपछि स्थानीयवासी र अध्यक्ष पक्षबीच विवाद चर्किँदै झडप भएको हो।

 झडप नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुका साथै हवाई फायर गरेको स्थानीयले बताएका छन्। स्थानीयवासीका अनुसार अस्पतालमा आवश्यक जनशक्ति, उपकरण तथा अन्य आधारभूत व्यवस्थापन पूरा नभएकाले सम्पूर्ण तयारी गरेर मात्रै उद्घाटन गर्नुपर्ने उनीहरूको माग थियो।

 तर, गाउँपालिका अध्यक्ष अन्सारीले आजै उद्घाटन गर्ने अडान लिएपछि विवाद बढेको स्थानीयको भनाइ छ। अध्यक्ष अन्सारी आफ्ना समर्थकसहित उद्घाटनस्थल पुगेपछि दुई पक्षबीच तनाव बढ्दै झडप भएको स्थानीयले बताएका छन्।

 झडप नियन्त्रणमा लिन परिचालित प्रहरीले बल प्रयोग गरेको थियो। स्थिति अनियन्त्रित भएपछि भीड तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको स्थानीयको दाबी छ। प्रहरीले चलाएको गोली लागेर अस्पतालमा मञ्च व्यवस्थापनको काम गरिरहेका स्थानीय अन्दाजी १३/१४ वर्षीय अजित पासवान घाइते भएका छन्।

 उनको पेटमा गोली लागेको स्थानीय पत्रकार राजु चौरसियाले जानकारी दिएका छन्। घाइते पासवानलाई उपचारका लागि वीरगञ्ज लगिएको बताइएको छ। घटनापछि फेटाको अवस्था तनावग्रस्त बनेको छ।

 आक्रोशित स्थानीय युवाहरूले करिब एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरेको स्थानीयले बताएका छन्। घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ। स्थानीयका अनुसार अस्पताल उद्घाटनलाई लिएर विवाद बढेपछि स्थानीय प्रशासनले परिस्थितिको विश्लेषण गर्दै तत्काल उद्घाटन कार्यक्रम रोक्न आग्रह गरेको थियो।

 तर, गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशासकीय अधिकृतको अडानका कारण विवादले हिंसात्मक रूप लिएको स्थानीयको आरोप छ। घटनाको वास्तविक कारण, गोली चलाउने अवस्था र जिम्मेवारीबारे सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 1
क्या राम्रो क्या राम्रो 0