प्रहरी संगठन सुदृढ बनाउन स्रोतसाधन र दक्ष जनशक्ति बढाउनुपर्नेमा जोड:प्रजिअ
३० असाेज,बारा । प्रहरी संगठनलाई थप सुदृढ बनाउन स्रोतसाधन र दक्ष जनशक्ति वृद्धि गर्नुपर्नेमा जोड दिँदै बारामा ७१औँ प्रहरी दिवस मनाइएको छ।
दिवसका अवसरमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले नेपाल प्रहरीलाई देश र जनताको सुरक्षामा खटिने बलियो पहरेदारका रूपमा चित्रण गर्दै प्रहरीको मनोबल उच्च राख्नुपर्ने बताए।
कार्यक्रममा अमर प्रहरीका परिवार, उत्कृष्ट प्रहरी कर्मचारी, सामाजिक अभियन्ता तथा पत्रकारहरूलाई सम्मानसमेत गरिएको थियो। समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अधिकारीले संकट र विपत्तिमा परेका नागरिकको रक्षा गर्नुका साथै देशका कुना-कन्दरामा पुगेर नागरिकको साथ दिने प्रहरी संगठनको संस्थागत योगदान महत्त्वपूर्ण रहेको बताए।
प्रहरी संगठनलाई अझ प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र दक्ष जनशक्ति थप्नुपर्नेमा जोड दिँदै उनले प्रहरीको सम्मान र प्रतिष्ठा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
७१औँ प्रहरी दिवसले प्रहरी कर्मचारीमा विगतभन्दा अझ उच्च मनोबल, साहस र सेवाभाव प्रदान गरोस् भन्दै उनले शुभकामनासमेत व्यक्त गरे।
समारोहका विशिष्ट अतिथि एवं सरकारी वकिल कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेलले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।
“नेपाल प्रहरी छ र त हामी ढुक्क भएर सुत्न पाएका छौँ। प्रहरी सबै हिसाबले बलियो हुँदा मात्र देशको समग्र सुरक्षा बलियो हुन्छ,” उनले भने। पौडेलले पछिल्लो समय बढ्दै गएको साइबर अपराध नियन्त्रण गर्न दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्दै प्रहरीलाई आधुनिक उपकरण, प्रविधि र आवश्यक तालिमसहित सक्षम बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वप्रहरी नायव निरीक्षक जंगबहादुर यादवले देश र जनताको सुरक्षाका लागि ज्यान गुमाएका अमर प्रहरीहरूको योगदानको स्मरण गरे। “सहिद अमर प्रहरीको सम्मान नै देश र जनताको सम्मान हो,” उनले भने। अमर प्रहरीहरूले राष्ट्रका लागि गरेको त्याग र योगदानलाई सधैँ सम्मान गर्नुपर्ने उनको भनाइ थियो। दिवसको अवसरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारजनलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा अमर प्रहरीका पत्नी, आमा, बुवा तथा भाइहरू रहेका थिए। सुनकोसी बाढीमा परी बेपत्ता भएका प्रहरीकी पत्नी गुन्जा ठाकुरसहित दुई दर्जनभन्दा बढी अमर प्रहरीका परिवारलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
त्यसैगरी, जिल्लाका विभिन्न प्रहरी युनिटमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी जवानसम्मका कर्मचारीलाई प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले पुरस्कार प्रदान गरे। ।
पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी नायव निरीक्षक बिमलेश यादव, शैलेन्द्रकुमार यादव, तेजनारायण बैठा, नवलकिशोर, प्रदीप चौधरी, नवीन काफ्ले र नितु कुमारी दुबेदीलगायत दुई दर्जनभन्दा बढी रहेका छन्।
शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र पत्रकारहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो।
सम्मानित हुनेमा आफन्त नेपाल पर्साकी मनु राना, सामाजिक अभियन्ताहरू अनिता जैसवाल र गोमा पौडेल तथा पत्रकारद्वय धिरेन्द्र तिवारी र श्यामबाबु यादव रहेका छन्।
प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमले प्रहरी संगठनको योगदानको स्मरण गर्नुका साथै कर्तव्य पालनाका क्रममा जीवन गुमाएका प्रहरी र उनीहरूका परिवारप्रति सम्मान व्यक्त गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0