उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते, ८ जनालाई विराटनगर रिफर

Sep 16, 2026 - 14:33
 0  5
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते, ८ जनालाई विराटनगर रिफर

३१ भदाै,उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा ट्रक र यात्रुबाहक हायस आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

 बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

 दुर्घटनामा हायस चालक र सहचालकसहित १७ जना घाइते भएका छन्। दुर्घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको थियो। घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको छ।

घाइते हुनेमा काठमाडौं चन्द्रागिरी–१४ की ५६ वर्षीया इन्दिरा श्रेष्ठ, मोरङ सुन्दरहरैचा–७ की २७ वर्षीया पवित्रा भट्टराई, चन्द्रागिरी–१४ की ४८ वर्षीया रुकमाया श्रेष्ठ, सोही स्थानकी ५३ वर्षीया पविना श्रेष्ठ, मोरङ कानेपोखरी–६ का २४ वर्षीय लबिन चौलागाई, हायसका सहचालक कानेपोखरी–६ का ४० वर्षीय देवराज विक र चालक ४४ वर्षीय रामबहादुर विक रहेका छन्।

 त्यस्तै बाँके नेपालगञ्ज–३ की २१ वर्षीया लक्ष्मी गिरी, उदयपुर त्रियुगा–३ की ४२ वर्षीया रस्मिला दाहाल, मोरङ सुन्दरहरैचा–६ की ७९ वर्षीया जमुना राई, सोही स्थानका ४१ वर्षीय एदु चन्द्र राई, इलाम जोगमाई–१ का २५ वर्षीय सगुन गुरुङ, उदयपुर बेलका–६ का ३१ वर्षीय डम्बरबहादुर विक, सिन्धुली कमलामाई–१ की ४० वर्षीया सानु थापा, उदयपुर बेलका–६ का २० वर्षीय सुदिप राई र काठमाडौं बुढानीलकण्ठ–५ की ४३ वर्षीया शान्ति न्यारिका घाइते भएका छन्। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0