८ फागुन,बारा बारा जिल्लाका सीमावर्ती नाकाहरू र मुख्य राजमार्ग यतिबेला तस्करीको सुरक्षित ‘ट्रान्जिट पोइन्ट’ बनेका छन्, जहाँ जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च) नै तस्करी नियन्त्रण गर्नुको सट्टा अवैध जालोको संरक्षक बनेको गम्भीर तथ्यहरू बाहिर आएका छन् ।
विशेषगरी, लामो समयदेखि बारामा जरो गाडेर बसेका र अपराध अनुसन्धानमा कुनै विज्ञता नभएका सई दिपक बस्नेतको कार्यशैलीले संगठनकै छवि धूमिल बनाएको छ; पथलैया ट्राफिकमा सिपाहीबाट लामो समय बिताएका बस्नेतले शक्तिको आडमा ‘क्राइम ब्रान्च’ मा पकड जमाउँदै वीरगन्ज भन्सार (आइसिपी) देखि पथलैयासम्मको लाइनमा ‘हाकिम रिझाउने’ र आर्थिक ‘सेटिङ’ मिलाउने भूमिका खेलेको आरोप लागेको छ ।
पछिल्लो समय कवहीगोठ, पिपरपाती, खजानी, सिम्रौनगढ र कचोर्वा जस्ता संवेदनशील नाकाहरूबाट लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स र हार्डवेयरका सामान मात्र नभई जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने ‘विषादीयुक्त माछा’ समेतको व्यापक तस्करी भइरहेको छ । जसमा कवहीगोठबाट जयराम कुशवाहाले तस्करी गरिरहेका छन भन्ने समग्र नाकाको सेटिङ मिलाउन बरियारपुरका शियाराम कुशवाहा जस्ता बिचौलियाहरू सक्रिय रहेको स्रोतको दाबी छ ।
अचम्मको कुरा त यो छ कि, जिल्लाका प्रहरी प्रमुख (एसपी) ले चौकीहरूको जिम्मा एक इन्स्पेक्टरलाई सुम्पेर जिम्मेवारीबाट पन्छिन खोजेको र आर्थिक आर्जनका केन्द्रहरूमा बस्नेत जस्ता विवादित अधिकृतहरूलाई अस्वाभाविक सक्रिय बनाइएको छ, जसका कारण इमानदार प्रहरी ओझेलमा परेका छन् भने राज्यको राजस्वमा अर्बौँको क्षति पुगेको छ ।
बाराकाे तस्करी नरूक्नुमा सुरक्षा निकाय प्रति संसय पैदा गरेकाे छ । अर्कोतिर गृह मन्त्रालय र प्रहरी हेडक्वार्टरको रहस्यमय मौनताले ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ को सरकारी नारालाई गिज्याइरहेको छ; त्यसैले राष्ट्रिय सुरक्षामा पुग्न सक्ने अपूरणीय क्षतिलाई रोक्न सई बस्नेत लगायतका पात्रहरूमाथि तत्काल उच्चस्तरीय छानबिन गरी यो तस्करीको ‘सिन्डिकेट’ तोड्न र दोषीलाई कानुनी कठघरामा उभ्याउनु अपरिहार्य देखिएको छ ।
